जापानलाई प्रमाणित गर्ने अवसर

Share
0Shares

अकल्यान्ड — यसपालिको महिला विश्वकप फुटबलमा जापानको परीक्षा नै भएको छैन भन्दा हुन्छ । लगातार चार खेल जितेर जापान सजिलै क्वाटरफाइनल पुगेको छ । यो चरणमा जापानको प्रतिद्वन्द्वी छ स्विडेन । यो नै त्यही खेल हुनेछ, जसमा जापानले आफ्नो प्रतिष्ठा प्रमाणित गर्ने अवसर हुनेछ । यो हुनेछ उपाधिको बलियो दाबेदारी । शुक्रबारदेखि क्वाटरफाइनलका खेल हुनेछ । यसमा पहिलो प्रतिस्पर्धा स्पेन र नेदरल्यान्ड्सबचि हुनेछ । डच टिमसामु अहिलेसम्मकै खुला विश्वकपमाथि आफ्नो नियन्त्रण बनाउने अवसर हुनेछ ।

चार वर्षअगाडि नेदरल्यान्ड्स उपविजेतामा सीमित रहेको थियो । टोली फाइनलमा अमेरिकासँग पराजित भएको हो । टोकियो ओलम्पिकमा पनि नेदरल्यान्ड्स क्वाटरफाइनल चरणमा अमेरिकासँग पराजित भयो । यसपल्ट अमेरिका आफैं भने प्रतियोगिताबाट बाहिरिइसकेको छ । त्यस अर्थमा नेदरल्यान्ड्सका लागि सबैभन्दा ठूलो अवरोध हटिसकेको छ । टोलीको अबको प्रतिद्वन्द्वी हो स्पेन । स्पेन अहिलेसम्म महिला विश्वकपको क्वाटरफाइनलभन्दा माथि पुग्न सकेको छैन ।

जापान–स्विडेन

फिफा वरीयतामा स्विडेन तेस्रो स्थानमा छ । यस विश्वकपमा चुनौती बाँकी रहेको शीर्ष वरीयताको कुनै टिम छ भने यो स्विडेन नै हो । महिला विश्वकपमा स्विडेन तीनपल्ट तेस्रो स्थानमा रह्यो । अब भने टोलीको इच्छा हुनेछ त्यो भन्दा राम्रा गर्ने । सायद यसका लागि यो टिम सक्षम छ, किनभने अमेरिकालाई विश्वकपबाट घर फर्काउने टिम यही त हो । सस्वडेनले अमेरिकालाई नाटकीय टाइब्रेकरमा हराएर आफ्नो विपक्षी टिमको लगातार तेस्रोपल्ट उपाधि जित्ने अभियानमा निर्णायक धक्का लगाएको थियो ।

स्विडेनले सन् २०१९ मा समेत गरेर तीनपल्ट महिला विश्वकपको सेमिफाइनल खेलेको छ । सन् २०१३ को एउटा अपवाद छाड्ने हो भने प्रत्येकपल्ट त्यही चरणमा रोकिएको छ । त्यो वर्ष टोलीले फाइनल नै खेलेको थियो । त्यतिबेला स्विडेन टोली जर्मनीको हातबाट उपाधि भिडन्तमा पराजित भयो । अमेरिकाविरुद्धको खेलमा गोलरक्षक जेचिरा मुसोभिच ‘नायक’ नै रहिन् । अमेरिकामाथिको उक्त खेल पेनाल्टी शुटआउटमा ५–४ ले जित्दा उनको अद्वितीय प्रदर्शन रह्यो ।

एउटा तथ्य भने स्विडेनका प्रशिक्षक पिटर गेहार्डसन पनि मान्छन्, अहिलेसम्मको खेलमा आफ्नो टिमले जापान जत्तिको टिमको सामना गर्नुपरेको छैन । ‘हामीले अहिलेसम्म चार खेल खेलेकामा जापान जत्तिको टिमविरुद्ध खेल्नुपरेको छैन । तर, जापान आफैंले पनि जति टिमको सामना गरेको छ, त्यसको तुलना हामीसँग गर्न मिल्दैन ।’ खेल एडेन पार्कमा हुनेछ । यहाँ जापानसामु यहाँ बदला लिने अवसर हुनेछ । टोकियो ओलम्पिकको क्वाटरफाइनलमा जापानलाई स्विडेनले नै हराएको थियो ।

जापानका लागि ४ खेलमा २३ वर्षीया हिनाता मियाजावाले ५ गोल गरेकी छन् । उनी ‘गोल्डेन बुट अवार्ड’ जित्ने होडमा अगाडि छिन् । मियाजावाले आफ्नो टिमका लागि विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान बराबरी गरिसकेकी छन् । उनका सामु त्यसलाई अझ बढाउन अवसर पनि छ । सन् २०११ मा जापानले विश्वकप जित्दा लिजेन्डरी खेलाडी होमारे सावाले ५ गोल नै गरेकी थिइन् । यसपल्ट जापानले ४ खेलमा कीर्तिमान १४ गोल गरिसकेको छ । एक गोलमात्र खाएको थियो । यो गोल पनि नर्वेमाथि नकआउट चरणमा प्राप्त ३–१ जितमा खाएको हो । जापानी मिडफिल्डर फुका नागानो भन्छिन्, ‘अहिलेसम्म हामीले जति मिहिनेत गरेका छौं, त्यसको प्रतिफल आउन सुरु भएको छ । यसले म मात्र होइन, सबैको खेलमा प्रभाव पारेको छ । मेरो विचारमा जापानको अहिलेसम्मको प्रदर्शनको कारण यही हो ।’

न्युजिल्यान्डमै लगातार दोस्रो खेल खेल्न पाउने कारणले जापानलाई केही फाइदा पनि हुन सक्ने छ । नर्वेलाई वेलिङ्टनमा हराएयता जापान छोटो दूरी तय गरेर अकल्यान्ड पुगेको छ ।

स्विडेनले भने मेलबर्नमा खेलेको थियो । एक दिनको यात्रापछि मात्र टोली अकल्यान्ड पुगेको छ । नयाँ समयसीमाले पनि टोलीलाई अप्ठ्यारो पार्नसक्छ । एक अर्थमा यो खेल जापान र स्विडेनको रक्षापंक्तिको भिडन्तका रूपमा हेर्न सकिन्छ, किनभने यी दुवै टिम संयुक्त रूपमा ६ खेलमा ‘क्लिन सिट’ राखेको छ । अझ आ–आफ्ना चारै खेलमा दुवै टिमले एकै गोल मात्र खाएका छन् । तर अन्तिम आठमा पुगेका टिममध्ये आक्रमणको औसतमा स्विडेन कमजोर देखिएको छ । टोली सातौं स्थानमा मात्र छ ।

स्पेन–नेदरल्यान्ड्स

महिला विश्वकप सुरु हुँदा धेरैलाई लागेको थियो, स्पेन उपाधिकै लागि बलियो दाबेदारी पेस गर्न सक्ने टिम हो । तर, जापानसँग ४–० ले पराजित भएयता त्यो धेरै हदसम्म भ्रम सावित भएको छ । यो पीडादायी हारपछि स्पेनले उत्तिकै मीठो जित निकालेको छ स्विट्जरल्यान्डमाथि ५–१ को । जापानविरुद्धको खेलबाट पाँच परिवर्तन गर्दै स्पेनले स्विस टिमको सामना गरेको थियो । यही परिवर्तन टिमको बलियो देखिएको डच टिमको सामना गर्न लागेको हो ।

महिला फुटबलमा नेदरल्यान्ड्सको उपस्थिति पछिल्लो समय महाशक्तिका रूपमा छ । स्पेनले जापानविरुद्धको एक खेललाई छाडेर १३ गोल गरेको छ । यसक्रममा टिम पूर्णतः आक्रामक देखिएको छ । यता नेदरल्यान्ड्स लगातार दोस्रोपल्ट फाइनल प्रवेश गर्न चाहन्छ । सन् २०१५ मै आएर मात्र नेदरल्यान्ड्सले महिला विश्वकपमा डेब्यु गरेको थियो । यसअघिका ६ संस्करणमा नेदरल्यान्ड्स छनोट पनि हुन सकेन । सुरुमै खेलेको विश्वकपमा नेदरल्यान्ड्स नकआउट चरण पुगेको थियो ।

त्यसपछि त टिम फाइनल पुग्नै सफल रह्यो । नेदरल्यान्ड्सका लागि अमेरिका प्रतियोगिताबाट बाहिरिनु खुसीको समाचार छ । टिमले यो नतिजालाई लिएर खुसी पनि मनाएको छ । लिग चरणमै नेदरल्यान्ड्स र अमेरिका आमनेसामने भएको थियो । त्यो बराबरीको खेल रह्यो । डच फरवार्ड लिनेथ बेरेनस्टेन भन्छिन्, ‘जतिबेला मैले अमेरिका बाहिरिएको सुनें, तिनीहरूलाई बिदाइ गर्न चाहें । प्रतियोगिता सुरु हुनुअगाडि नै अमेरिकी खेलाडी फाइनलबारे कुरा गरिरहेका थिए । आखिरमा फाइनल पुग्न मैदानमा खेल पनि त देखाउनुपर्‍यो ।’

उनी थप्छिन्, ‘म अझै पनि अमेरिकी टिमको सम्मान गर्छु, तर उनीहरूको चुनौती समाप्त भइसकेको छ । यो हाम्रो लागि राहतको उपलब्धि हो । अमेरिकाको यो प्रदर्शनले उनीहरूलाई भविष्यमा झक्झकाइरहनेछ ।’ डच खेलाडी जिल रुर्डले यसपल्ट चार गोल गरिसकेकी छन् । उनी मियाजावाको ठीक पछाडि छिन् । यो खेलमा डच टिमका प्रमुख खेलाडी ड्यानिली भान डे डन्क हुने छैनन्, किनभने दुई पहेँलो कार्ड खाएर उनी एक खेलको प्रतिबन्धबाट गुज्रिइरहेकी छन् ।

Share
0Shares
Advertisment